राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिका ४ रामजानकी टोलका कैलाशसिंह खत्रीलाई अहिले पनि त्यही दिनको पिडाले पछ्याईरहेको छ । मंसिर ४ आउने वित्तिकै उनलाई त्यही दिनको दुखद याद झल्झली आइरहन्छ । चार बर्ष अघि अर्थात २०७१ साल मंसिर ४ गतेका दिन जिल्लाको भुर रावतगाँउ नजिकै ५४ जनाको ज्यान जाने गरी भएको भयानक बस दुघर्टनामा उनका छोरा प्रदेशसिंह खत्रीको पनि मृत्यु भएको थियो । उनी छोराको यादमा तड्पि रहेका छन् । अझै उनी भाव विह्ल छन् ।
बुढेसकालको साहारा बन्ला भनेको लक्का जवान छोरा बस दुघर्टनामा परि ज्यान गुमाएपछि उनी निकै दुखित छन् । अहिले पनि त्यही दिनको यादले सताईरहन्छ उनले भने ‘नेपालगञ्ज जाने भनेर हिडेको छोरा कहिल्यै नफर्किने गरी हामी सवैलाई छोडेर गयो । मंसिर ४ को दिन हाम्रो लागी कालो दिन हो ।’ छोरा वितेपछि बुहारी पनि दोस्रो विवाह गरेर गइन । नावालक नाती नातिना हुर्काउने, पढाउने लगायतको जिम्मा समेत मेरै काँधमा आईपर्यो उनले भने ‘मेरो जस्तो पिडा कसैले भोग्न नपरोस ।’
उनी जस्तै भेरीनगरपालिका २ की लक्ष्मी खड्का पनि बस दुर्घटना पछि पति वियोगमा परिन । सँगै जिउने सँगै मर्ने कसम खाएर विवाह बन्धनमा बाँधिएको उनीहरु ३० बर्षिया श्रीमानको मृत्यु सँगै उनको काँधमा एक छोरा र दुई छोरी हुर्काउने जिम्मेवारी आईलाग्यो । कमाउने मानिसको दुघर्टनामा परि ज्यान गएपछि दैनिक गुजरा चलाउन समेत मुस्किल परिरहेको उनले बताईन । मंसिर ४ हाम्रो लागी कालो दिन हो । यो दिन फर्केर नआईदिए हुन्थ्यो जस्तो लाग्छ उनले भनिन ‘नेपालगञ्ज जाने भनेर हिडेका श्रीमानको मृत्युको खवर सुनेको त्यही दिनको दुखद घटनाको याद बारम्बार आईरहन्छ । केटाकेटीका लागी भएपनि मुटु माथि ढुङ्गा राखेर जिउनु परेको छ ।’
यी दुई प्रतिनिधी परिवार जस्तै ५४ जनाका परिवारको हालत यस्तै छ । दुघर्टनामा परि ज्यान गुमाउनेका परिवारमा त्यतिवेलाको पिडाले अहिले पनि पछ्याईरहेको छ । जाजरकोट खलंगाबाट ६५ जना यात्रु बोकेर नेपालगञ्जका लागी छुटेको बस छिन्चु–जाजरकोट सडक खण्डको भुर नजिकबाट बस भेरीमा खसेको थियो । दुघर्टना स्थलमा सवै मृतकको सम्झनामा स्मारिका निर्माण गरिएको छ । थोत्रो बस, चालकको लापरवाही, क्षमता भन्दा बढी यात्रु राखिएको आदि कारणले उक्त दुघर्टना भएको प्रहरीको निश्कर्ष छ । जिल्लामा पहिलो पटक भएको ठुलो बस दुघर्टना पछि उक्त सडकको छेउमा सुरक्षा बार लगाईएको छ । केही समय सिट भन्दा बढी यात्रु राख्न नपाईने, टाईम कार्ड लगायतको प्रयोग गरेर कडाई गरेको केही समय पछि नै सेलाएको थियो । त्यस्तै थोत्रा बस चलाउन प्रतिवन्ध नलगाउँदा जोखिम कम हुन सकेको छैन । उक्त दुघर्टनाको दुई बर्ष पछि २०७३ सालमा उक्त सडकको खलंगा नजिकै बोहरामा भएको बस दुघर्टनामा २७ जनाले ज्यान गुमाएका थिए । पाँच बर्षको अवधीमा छिन्चु जाजरकोट सडक खण्डमा ८५ जनाले ज्यान गुमाई सकेको प्रहरीको भनाई छ ।