April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

मौरी सम्बन्धी अनुभव आदान प्रदान गर्न विदेशी विज्ञ जाजरकोटमा

प्रवाह संवाददाता । जाजरकोट

अनुभव आदान प्रदान गर्न जाजरकोट जिल्लाको मह र मौरी अध्ययनन गर्न मौरी सम्बन्धि विदेशी विज्ञ नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् । बिभिन्न प्रजातिय रैथाने मौरीहरुको बासस्थान र महको गुणस्तरतालाई अध्ययन अवलोकन गर्न र अनुभव आदान प्रदान गर्न बेलायतीका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का जाजरकोट नलगाड नगरपालिकाको कल्पतमा पुगेका हुन् । रुडी मौरी विज्ञ हुन् ।
बेलायतमा सफल मौरी व्यवसाय संचालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरी लगाएत गाउँका करीव ६० भन्दा बढी किसानहरु सँग मौरीपालन बारे अन्र्तक्रिया गरेर अनुभव आदानप्रदान गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पहलमा उनीहरु अध्ययन भ्रमणका लागी जाजरकोट पुगेका हुन् ।

रुडीको जोडीले मौरी पालक किसानलाई दिनुपर्ने शिक्षा, मह र मौरीको निरिक्षण गर्ने प्रणालीको व्यवस्था तथा बिकास, मह काढ्ने तरिका, महमा रहेको पानीको मात्रालाई व्यवस्थापन गर्ने तरिका बारे अन्र्तरक्रिया गरेका छन् । उनीहरुले मह खरिदको अभिलेखिकरण व्यवस्थापन, मह प्रशोधन विधि, मह भण्डारणमा तापक्रमको व्यवस्थापन, महमा एचएमएफ बढ्ने अबस्था र त्यसको मात्रा मिलाउने तरिका, मुल्य निर्धारण, मह लेवलिङ्ग गर्ने तरिकाका र रानी मौरी उत्पादन गर्ने तरिकाका बिषयमा किसानहरुसंग छलफल गरेका थिए ।

विगत ३५ बर्ष देखि सफल मौरी व्यवसाय संचालन गरिरहेका रुडीले उत्पादन गरेको महले विश्व पुरस्कार जित्न सफल भएको उनले बताए । मेलिफेरा प्रजातिको मौरी पालन उद्योग संचालन गरिरहेका ७३ बर्षिय लण्डनका नागरिक रुडीले कल्पतमा रैथाने सेराना, कठ्यौरी, पुतुका र भीर मौरीको बाँस स्थान र महको अवलोकन गरेका छन् । सेराना मौरीसंगै कठ्यौरी र पुतुका मौरीको उपयुक्त बास स्थान भएको पाली र कल्पतको पारस्थितिकीय प्रणाली सन्तुलित रहेको मौरी विज्ञ रुडीले बताए । पालि, कल्पतको सेराना, कठ्यौरी, पुतुका र भीर मौरीको अवलोकन गर्न विश्वका पर्यटकहरु आउन सक्ने रुडीको भनाई रहेको छ । मौरीमैत्री बाताबरण बनाई राख्न तथा बचाई राख्न कठ्यौरी, पुतुका र भीर मौरीको संरक्षणमा जोड दिनुपर्ने उनको भनाई छ ।

 

रैथाने प्रजाति भित्र पर्ने सेराना मौरी पालन गरिरहेका पालि, कल्पतका किसानहरुले रानी मौरी उत्पादन गर्ने सिप सिक्ने ईच्छा राखेमा अर्कोपटक आफु नेपाल आएको समयमा कल्पतमै पुगेर तालिम दिन सकिने रुडीले बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग अन्तरगत रहेको किट विकास केन्द्रका प्रमुख तथा सह–सचिब हरिहर अधिकारी जाजरकोटका किसान र बेलायतका मौरी ब्यवसायी विच अनुभव आदान प्रदान गर्न उनीहरुलाई आमन्त्रण गरिएको बताए । विज्ञ टोली सँगै आएका सहसचिव अधिकारीले नेपालमा मौरीको संभावना धेरै रहेको भन्दै यहाँको महलाई विश्व बजारमा पुरयाउने गरि मन्त्रालयले काम गरिरहेको बताए ।

नगरपालिकाको आयोजनामा मौरी विज्ञ रुडी रेप्काले पालि कल्पतका अगुवा किसानहरुलाई रानी मौरी उत्पादन सम्बन्धिको तालिम दिने व्यवस्था मिलाउनमा आफुले जोड दिने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । अन्तराष्ट्रिय बजारको मापदण्डलाई पुरा गर्न सकेमा महको बजारीकरणमा कुनै समस्या नहुने नगरप्रमुख रावलको भनाई छ । जाजरकोटको मौरीलाई चासो दिएर अध्ययन तथा अनुभव साटासाट गर्न विदेशी विज्ञ यहाँ आउनु खुसीको कुरा भएको कृषि प्राविधिक महेशकुमार विष्टले बताए । उनीहरुको सीप, अनुभव र प्रविधि उपयोग गरेर मौरी पालनलाई थप ब्यवसायिक बनाउनु पर्नेमा उनको जोड छ । सरकारले यसै आर्थिक बर्ष देखि प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्र्तगत जाजरकोटको नलगाड, भेरी, कुशे र छेडागाडलाई समेटेर मौरी जोन स्थापना गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad