तीनहजार आठ सय नगद भत्ता र डेढ लिटर तेल दिने ब्यवस्थाले सवै गर्भवति स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका हुन्
राजेन्द्र कार्की । जाजरकोट
कुनै समय असुरक्षित तरीकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड ३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित तरीकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवति महिलाहरु स्वास्थ्य संस्थामा आएर सुरक्षित तरीकाले सुत्केरी हुन थालेका हुन् । जनचेतनाको विकासका साथै संघिय सरकार र स्थानिय सरकारले यातायात खर्चका साथै तेल दिन थालेपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या ह्वात्तै बढेको हो ।
सरकारले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुँदा यातायात खर्च दुई हजार र चार पटक गर्भ जाँच गराउँदा थप ८ सय भत्ता दिने गरेको छ । स्थानिय सरकार नलगाड नगरपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई थप एक हजार भत्ता दिने गरेको छ । भत्ताका साथै नगरले सुत्केरी महिलालाई डेढ लिटर खानेतेल, आयोडिन युक्त नुन एक केजी, साबुन, ब्रस, पेन्टी, प्याड, न्यानो कपडा लगायतका सामग्री दिने गरेको छ ।
नलगाड ३ कि २५ बर्षिय बृहस्पती पुनले चार पटक नियमित गर्भ जाँच गराईन । सुत्केरी हुन पनि स्वास्थ्य संस्थामै आईन । उनी सुरक्षित तरीकाले सुत्केरी भईन । उनले एकमुष्ट तीन हजार ८ सय रुपैया, डेढ लिटर तेल, नुन र अन्य सामग्री समेत पाईन । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको उनले बताईन । आफ्नो स्वास्थ्यको बारेमा हामी सचेत छौ । उनले भनिन–‘सुत्केरी हुँदा ज्यानकै जोखिम हुन्छ । त्यही भएर मैले नियमित गर्भ जाँच गराएँ र सुत्केरी हुन पनि स्वास्थ्य संस्थामै आए । निममित गर्भ जाँच गराउँदा बच्चा बढे नबढेको, उल्टो, सुल्टो अवस्था आदिका बारेमा जानकारी हुन्छ र ढुक्क होइन्छ ।’ पहिलो पटक गर्भवति हुँदा नियमित गर्भ जाँच नगर्दा र घरमै असुरक्षित तरीकाले सुत्केरी हुँदा निकै दुःख पाएपछि आफु यसपटक झन सचेत भएको उनले बताईन । पहिलो पटक सुत्केरी ब्यथा लागेको दुई दिन सम्म पनि बच्चा नजन्मेपछि सदरमुकाम खलंगा गएर बच्चा जन्माएको उनको भनाई छ ।
नलगाड ३ कै १८ बर्षिय कमला घर्तीले पनि चार पटक नियमित गर्भजाँच गराईन । पहिलो पटक गर्भवति उनी नजिकैको कैन स्वास्थ्य केन्द्रमा गएर सुत्केरी भईन । ‘शुरुमा डर लागेको भएपनि स्वास्थ्य संस्था गएर सुत्केरी हुँदा मलाई सुरक्षित महसुस भयो’,उनले भनिन ‘केही बर्ष पहिले सम्म घरमै भगवान भरोसामा सुत्केरी हुने महिलाहरु अहिले सवै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेका छन् ।’ उनले पनि संघिय यातायात खर्च , स्थानिय सरकारको सुत्केरी भत्ता र तेलका साथै अन्य सामग्री पाईन । उनले सुत्केरीलाई भत्ता दिन थालेकोमा खुसी ब्यक्त गदै दुवै सरकारलाई धन्यवाद दिईन ।
संघिय र स्थानिय दुवै सरकारले भत्ता दिन थालेपछि धेरैजसो गर्भवति महिलाहरु स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको स्वास्थ्य चौकी कैना कि प्रमुख हिमा पुनले बताईन । नलगाड–३ का कैना, टट्टा, चाउलेचौर र करुवा गाँउमा स्थानिय यस स्वास्थ्य संस्थाका सेवाग्राही हुन् । वडा नम्बर ३ मा गत आर्थिक बर्षमा सुत्केरी भएका ५४ जना महिला मध्य ५१ जना यसै स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको स्वास्थ्य चौकी प्रमुख पुनले बताईन । अन्य ३ जना जिल्ला अस्पतालमा गएर सुत्केरी भएको पाईयो उनले भनिन– ‘घरमा सुत्केरी हुनेको संख्या शुन्यमा झार्ने लक्ष्य लिएका थियौ । सफल भयौ ।’ विभिन्न आमसञ्चारका माध्याम, आमा समूह, विद्यालय, घरदैलो अभियान आदिबाट सुरक्षित तरीकाले सुत्केरी हुँदा हुने फाईदा र असुरक्षित तरीकाले घरमै सुत्केरी हुँदा हुने ज्यानकै जोखिमका बारेमा जनचेतना फैलाईएपछि महिलाहरु आफ्नो स्वास्थ्य प्रति सचेत भएका हुन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा शिशु मृत्यु दर र मातृ मृत्यु दर पनि ह्वात्तै घटेको स्वास्थ्यकर्मीको भनाई छ ।