राजेन्द्र कार्की
केही दिन अघि सहकर्मी मित्र दीपबहादुर घर्ती र म जाजरकोट अस्पताल गएका थियौ । हामी फार्मेसीमा थियौ । अस्पतालको फार्मेसीमै औषधी सकिएको रहेछ । सोधपुछ गदै थियौ, हामी आएको जानकारी पाएपछि अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेत र डा. औसरसिंह राठौर त्यहाँ आईपुग्नु भयो । हेर्नुस न औषधी सकिएको लामो समय भैसक्यो । आउन सुरसार पनि छैन । अरु निशुल्क दिने औषधीको त कुरै छोडौ ल्यावको किट समेत सकियो अव त ल्याव सेवा नै बन्द हुने स्थितीमा पुगेको छ डा. राठौरले भने कसैबाट पनि सहयोग भएन । अस्पताल विकास समितिका अध्यक्ष बस्नेतले भन्नुभयो–‘औषधी खरीदका लागी रकम निकासा भैसकेको भएपनि लेखापाल नहुँदा खरीद गर्न सकिएको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयलाई लेखापाल पठाईदिन आग्रह गर्यौ सुनेन । कोष तथा लेखा नियन्त्रकको कार्यालयमा डेलिकेशन नै गएर लेखापालको ब्यवस्था गर्न आग्रह गर्यौ तर अझै सुनुवाई भएन । यहाँ खाली डाक्टरको मनोबल गिराउने खालका समाचार मात्र लेख्छन् । यस्ता समस्यामा कलम चलाउनुहोस जुन समाचारले सेवाग्राहीलाई फाईदा हुन्छ र स्वास्थ्यकर्मीको मनोबल बढ्छ ।’ हामीले यो विषयलाई मिडिया मार्फत उजागर गर्ने प्रतिबद्धता गर्यौ । केही क्षणमा अस्पताल प्रमुख डा. केशर कार्की सँग भेट भयो । उहाँ निकै निराश देखिनुहुन्थ्यो । जति काम गर्दा पनि जस नपाएको, मिडियाले सहयोग नगरेको, सम्बन्धित निकायले सहयोग नगरेको उहाँको गुनासो थियो । ‘म त समायोजन भएर जान थालिसके यस्तो वातावरणमा स्वास्थ्यकर्मीले कसरी काम गर्न सक्छन् ?’ उहाँले भन्नुभयो ।
स्वास्थ्य क्षेत्र सुधारको लागी मिडिया जहिले पनि साथमै रहने प्रतिबद्धता सहित हामी त्यहाँबाट छुटियौ । समाचार लेख्यौ । हामीले लेखेपछि सवै मिडियाकर्मीले औषधी अभावको समाचार लेखे । समाचार देखेरै प्रदेश सभा सदस्य कृष्णा शाह र गणेशप्रसाद सिंह एक गाडी औषधी आफै बोकेर अस्पताल पुगे । अस्पतालमा अस्थायी रुपमा भएपनि लेखापालको समस्या समाधान भएको छ । तर केही कार्टुन औषधी ल्याएर मात्र समस्या समाधान हुँदैन । भौतिक र प्राविधिक सवै हिसावले अस्पतालको स्तरोन्नती गर्न जरुरी छ । हिजो स्वास्थ्य सहायकले चेकजाँच गर्ने अस्पतालमा पहिलो पटक एमविविएस डाक्टर आएर सेवा गर्दा हामी खुसी भयौ । डा. विभान्त शाह र पवन शाक्यले केही सुधार पनि गरे । अहिले तीन जना त जाजरकोटकै डाक्टर कार्यरत छन् । तर एमविविएस डाक्टरमा मात्र चित्त बुझाउने अवस्था छैन । अहिलेको आवश्यकता विशेषज्ञ चिकित्सकको हो । ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अपस्पालमा एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । १५ शैयाबाट ५० शैयामा स्तरोन्नती भएको चार बर्ष विति सक्यो अझै अस्पतालको सेवामा खासै सुधार हुन सकेको छैन । न दरबन्दी अनुसारका चिकित्सकको ब्यवस्था गरिएको छ न भौतिक पुर्वाधारको नै । अहिले नेकपाको दुईतिहाईको सरकार छ । जाजरकोटबाट निर्वाचित पुर्व स्वास्थ्य मन्त्री समेत भैसकेका शक्ति बस्नेत संघिय सरकारका बन तथा वातावरण मन्त्री छन् । नेकपाबाटै ८ जना साँसदले जिल्लाबाट प्रतिनिधित्व गर्छन । यस्तो स्वर्णिम अवसरमा पनि अस्पतालले मुहार फेर्न पाएन भने कहिले पाउला ? । सधै रेफर गर्ने अस्पतालको उपमा पाईरहने कि ? सुधार पनि गर्ने । सामान्य विरामी हुँदा पनि चौरजहारी, सुर्खेत, नेपालगञ्ज जानु पर्ने बाध्यता कहिले सम्म ? हुने खाने त जालान पनि तर हुँदा खाने बर्ग सधै उपचारको अभावमा अकालमा मृत्युवरण गरिरहनु पर्ने ? गंभिर भएर सोच्ने बेला आएको छ ।
जिल्ला अस्पतालको कुरा मात्र होईन जिल्लाका अन्य स्वास्थ्य संस्थाको अवस्था पनि निकै दयनीय छ । जहाँ आवश्यक उपकरण, भौतिक पुर्वाधार र दक्ष जनशक्तिको अभाव छ । एमविविएस डाक्टरको दरबन्दी रहेका दल्ली, लिम्सा र गर्खाकोटले कहिल्यै डाक्टरको मुहार देख्न पाएनन् । स्वास्थ्य संस्थाहरु स्थानिय तह मातहत गएपछि झन् स्वास्थ्य क्षेत्र अस्तब्यस्त र तहसनहस भएको छ । स्थानिय तह मातहतका ति स्वास्थ्य संस्थामा पनि सामान्य सुत्केरी गराउन सक्ने अवस्था छैन । बर्षदिन यता बारेकोट र कुशेबाट सुत्केरी हुन नसकेर छट्पटाईरहेका चार जना गर्भवति महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तत्कालको लागी उनीहरुको ज्यान बच्यो । सहयोग गर्ने सवैलाई धन्यवाद तर सधै यसरी चल्छ ? स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्नु पर्यो । यातायात सेवा सहज बनाउनु पर्यो । कम्तिमै जिल्लामा सुविधा सम्पन्न प्रसुति गृह हुनु पर्यो जहाँ ढुक्कका साथ डेलिभरी हुने र गराउने ब्यवस्था होस यो पो दिर्घकालिन समाधान हो । यस तर्फ जिल्लाका नेतागण र सरोकारवालाको ध्यान जान जरुरी छ ।
अहिले पनि जाजरकोटलाई झाडापखालको , महामारीको जिल्ला भनेर उपमा दिने गरिन्छ । कतिपय अवस्थामा पत्रकारका कारण हाम्रो वेईज्यत भयो । यस्ता समाचार किन लेख्ने भनेर पनि पत्रकारलाई गाली गर्ने गरिन्छ । चाहे त्यो २०६६ सालमा महामारीको रुपमा फैलिएको झाडापखाला होस , चाहे २०७२ सालमा फैलिएको स्वाईन फ्लु वा २०७४ सालमा फैलिएको मौसमी रुघाखोकी यी सवै घटनामा जाजरकोटवासीले अकालमा ज्यान गुमाएका छन् । सायद यतिवेला जाजरकोटका पत्रकारले कलम नचलाएको भए अझै धेरै मानवीय क्षति हुने थियो । राज्यको ध्यानाकर्षण गरेर प्रकोप, महामारी नियन्त्रणमा लिन सञ्चारकर्मीको पनि महत्वपुर्ण भुमिका थियो । तर जर्वजस्ती आफु सम्य देखाउन यस्ता घटनामा धेरै हल्लाखल्ला गर्नुहुदैन भन्ने झुण्डले कहिल्यै सोचेन कि हाम्रो वेईज्यत हुनुमा समाचार मात्र कारक होईन । यहाँको सामाजिक, आर्थिक , चेतनाको स्तर, राज्यको लगानी र उपेक्षित नजर पनि कारक हुन भन्ने कुरा । हिजो त जाजरकोट राज्यको पहुँचमा भएन । यहाँको नेतृत्वको पहुँच सिंहदरबारमा भएन भनेर चित्त बुझायौ तर अहिले के भनेर चित्त बुझाउने ? ८ जना साँसद र क्याविनेट मन्त्री पाएको जिल्ला यतिवेला पनि स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन हुन सकेन भने कहिले हुने हो ? । सवैले गंभिर भएर सोच्ने बेला आएको छ ।