राजेन्द्र कार्की । जाजरकोट
एक साता देखि जाजरकोटमा भाइरल ज्वरोका बिरामी बढेका छन् । भाईरल ज्वरोका विरामी बढे सँगै स्वास्थ्य चौकी, निजी मेडिकल र जाजरकोट अस्पतालमा विरामीको चाप बढेको छ । एक साता देखि भाईरल ज्वरोले थलिएकी बारेकोट गाउँपालिका ६ टाँसीधुमा घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी १४ बर्षिया आशा विकको उपचारको क्रममा मृत्यु भएको छ ।
उनको मृत्यु सँगै जिल्लामा संत्रास फैलिएको छ । केही दिन यता जिल्ला अस्पताल र संस्थाहरुमा भाइरल ज्वरोका विरामी बढेका स्वास्थ्कर्मीले बताएका छन् । दुर्गम गाउका स्वास्थ्य संस्थामा औषधी तथा स्वास्थ्यकर्मीको अभाव हुँदा विरामीले उपचार पाउन नसकेको जुनीचाँदे ५ का प्रकाश शाहीले वताए । ‘भाइरल प्रभावित विरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजादा न औषधी पाइन्छ, नत स्वास्थ्यकर्मी फेला पर्छन्,’ उनले भने ।
गाउ÷नगरपालिकाले चालु आर्थिक बर्षका लागि औषधी खरीद प्रकृया अघि नबढाउदा यो समस्या भएको हो । औषधी नहुदा विरामीहरु निजी मेडिकलको महङ्गो औषधी किन्न वाध्य छन् । यातायातको सुविधा नहुँदा ग्रामिण भेगका विरामीलाई स्वास्थ्य संस्था लैजान समस्या हुने गरेको छेडागाड १२ का हेमन्त खत्रीले बताए । उनले विरामीलाई स्टेचरमा बोकेर लिनु पर्ने बाध्यता छ तर गाँउमा युवा नहुँदा समस्या भएको बताए । गाँउका युवाहरु कामको खोजीमा भारत जाने गरेका छन् । जिल्लाका सात वटै पालिकामा भाईरल ज्वरोका विरामी बढेका छन् । कुनै पनि स्थानिय तहले औषधी खरीद गरेका छैनन् । विरामीले निशुल्क पाउने भनेका औषधी पनि पाउन नसकेको खत्रीले बताए ।
जिल्ला अस्पतालमा दैनिक डेढ सय विरामी आउने गरेकोमा आधा विरामी भाईरल ज्वरोका आउने गरेको डा. केशर कार्कीले बताए । विरामी बढ्दै गएको तर औषधीको स्टक सकिदै गएकोले समस्या हुन थालेको उनले बताए । भाइरलले रोग विरुद्ध लड्ने शक्ति कमजोर भएका र दम तथा श्वासप्रश्वास सम्बन्धि रोग भएका ब्यक्तिलाई बढी समस्या पारेको छ । मौसम परिवर्तनको समय भएकाले खानपिनमा उचित ध्यान दिन र विरामी हुने वित्तिकै नजिकको स्वास्थ्य संस्था जान उनले आग्रह गरेका छन् । ताजा, पोषिलो तथा झोलिलो खाने कुरा खाने, आराम गर्ने, उमालेर पानी पिउने, सरसफाईमा ध्यान दिने समयमा उपचार गर्ने गरेमा भाईरलको प्रकोपबाट बच्न सकिने डा. कार्कीले बताए ।