राजेन्द्र कार्की । जाजरकोट
शनिवार राती खसेको पहिरोमा पुरिएर एकै घरका तीन आमाछोरीको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । राती करीव १ बजेतिर घरमाथिको ढिस्कोले घर पुर्दा भेरी नगरपालिका २ तिमिलेका दलबहादुर वलीका दुई छोरी र श्रीमतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उनकी श्रीमति ३२ बर्षिय पार्वती वली , छोरीहरु ९ बर्षिया मोतीकला र ३ बर्षिया धनसरा रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्यामबहादुर खत्रीले बताए । डिएस्पी खत्रीका अनुसार घरमुली दलबहादुर घरको बाहिरको कोठामा सुतेकाले उनले भागेर ज्यान जोगाएका छन् । भाग्ने क्रममा उनको खुट्टा र ढाडमा चोट लागेको छ । मैले हाम फालेर ज्यान जोगाए तर श्रीमति र छोरीहरु जोगाउन सकिन भावविहल भएका दलबहादुरले अन्नपुर्ण सँग भने ‘दुई दिन अघि मात्र सदरमुकाम खलंगा गएर तिजमा लगाउने भनेर रातो साडी किनेर ल्याएकी थिईन तर निष्ठुरी दैवले चुडेर लग्यो । लाउँ लाउँ खाउँ खाँउ उमेरका कलिला मुना निल्नु भन्दा बरु म अभागीलाई लिए हुन्थ्यो । परिवारै गुमाएर म एक्लै कसरी बाचुँ ?’ यद्यपी उनका एक छोरा बाँकेको कोहलपुरमा अध्ययनरत छन् ।
श्रीमानको दिर्घायुका लागी तिजको ब्रत बस्ने भनेर खलंगाबाट साडी, चुरा, पुजा सामग्री लिएर आएकी पार्वती तिजकै अघिल्लो दिन यस संसारबाट सदाका लागी विदा भईन । छोरीहरु तिजमा आमा सँगै नाच्ने भनेर कति खुसी थिए अघिल्लो दिन सम्म तर मध्यरातमा आएको पहिरोले उनीहरुको सपना सवै माटोमा मिलाईदियो दलबहादुरले भने ‘शनिवार बेलुका खाना खाएर आईतवार दर के खाने भनेर छलफल गदै राती १० बजेतिर सुतेका थियौ । श्रीमति र छोरीहरु भित्रको कोठामा सुते म बाहिरको कोठामा सुतेको थिए । राती १ बजेतिर होला एक्कासी गड्याम्म भएको ठुलो आवाज आयो । त्यो आवाजले म झसंग ब्युझे । अनि आमा र छोरी कराउँदै थिए । बचाउ बचाउ भन्दै थिए । म त्यसैवेला ढोकाबाट हाम फालेर ज्यान जोगाए । क्षणभरमै उनीहरुको आवाज सुनिन छोड्यो । म भने भगवान पुकारी रहे बचाउ बचाउ भन्दै ।’
मध्यरातमा निन्द्रामा मस्त उनीहरुलाई घरसँगै पहिरोले पुरिसकेको रहेछ । घटना भएको थाह हुने वित्तिकै गाँउलेहरु जम्मा भयौ । पुलिसलाई खवर गरयौ । उज्यालो भएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी घटनास्थल आईपुग्यो । सुरक्षाकर्मी र स्थानियले आईतवार विहान ८ बजेतिर मात्र घरभित्र पुरिएको तीन आमाछोरीको सव निकालेको स्थानिय विवेक वलीले बताए । घटना स्थल जिल्ला सदरमुकाम खलंगाबाट तीन घण्टाको पैदल दुरीमा रहेको छ । घटना स्थलबाट पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउन समस्या पर्ने भएकोले स्थानियको आग्रहमा प्रहरी मुचुल्का उठाएर गाँउमै मृतकको सामुहिक अन्त्यष्टि उनले बताए । यातायातको सुविधा नभएको अवस्थामा तीन तीन ओटा लास बोकेर ल्याउन समस्या पर्ने भएकोले स्थानियको रोहवरमा प्रहरी मुचुल्का उठाएर दाह संस्कार गर्ने अुनमति दिईएको डिएस्पी खत्रीले बताए । पहिरोमा परेर १५ दिने भैसीको पाडोको समेत मरेको छ ।
गत बर्ष जाजरकोट खलंगामै गएको भिषण पहिरोमा परि ९ जनाको ज्यान गएको थियो । पहिरोको दृष्ट्रिकोणले जाजरकोट अत्यन्त जोखिम जिल्लामा पर्छ ।